बागमती प्रदेशको सभामुखमा दाबी गर्ने कांग्रेसको निर्णय

मकवानपुर, २५ असोज । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री समेत रहेका दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

रिक्त पदमा कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दाबी गर्ने रणनीति लिएको हो । बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि महत्वपूर्ण निर्णय गरिएको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ । साथै, आउँदो पुरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार  ०९ : ४४  बजे