काठमाडौँ । पाँच जना पूर्वप्रधानमन्त्रीले नियमविपरीत लिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका हुन् । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) अनुसार पूर्वप्रधानमन्त्रीहरूले विशिष्टस्तरको सुरक्षा पाउँछन् । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधव कुमार नेपाल र झलनाथ खनालले कार्यविधिमा निर्धारितभन्दा धेरै सुरक्षाकर्मी प्रयोग गरेका थिए । तर, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द र बाबुराम भट्टराईले भने कार्यविधि अनुसार नै सुरक्षाकर्मी लिएको भेटिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले भने, ‘उहाँहरू दुई जना (चन्द र भट्टराई)ले कार्यविधि अनुसार नै सुरक्षाकर्मी लिनुभएको रहेछ ।’
पूर्वप्रधानमन्त्री ओलीको सुरक्षामा इन्स्पेक्टरको कमाण्डमा १६ जना प्रहरी खटिएका थिए । दुई जना जुनियर प्रहरी अधिकृतलाई राखेर उनको सुरक्षामा खटिएका सबै प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ डीएसपीको कमाण्डमा खटिएका २० जनामध्ये १८ जना फिर्ता भएका छन् । यस्तै, शेरबहादुर देउवाको सुरक्षामा पनि डीएसपीको नेतृत्वमा १७ जना, माधव नेपालको सुरक्षामा १२ जना र झलनाथ खनालको सुरक्षामा ८ जना प्रहरी खटिएका थिए । प्रहरी हेडक्वार्टरले दुई जना व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) छाडेर अरु सबैलाई फिर्ता बोलाएको छ ।
भीआईपीको सुरक्षामा प्रहरीका २७६ जना थप जनशक्ति परिचालित भएको प्रहरी प्रधान कार्यालयको रेकर्डमा देखिएको छ । कार्यविधिभन्दा धेरै खटिएका १ सयभन्दा बढी फिर्ता भइसकेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा कार्यविधि विपरीत खटिएका सबै प्रहरी कर्मचारीलाई हामीले फिर्ता बोलाएका छौँ ।’ पूर्वप्रधानमन्त्रीहरूकहाँ कार्यविधि अनुसार प्रहरीका दुई जना जुनियर प्रहरी अधिकृतलाई मात्रै छाडिएको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका पीएसओ आजीवन पाउँछन् । प्रहरी प्रधान कार्यालयले नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवकोटी र साधु अर्चना बाबालाई दिएको सुरक्षाकर्मी पनि फिर्ता बोलाएको छ ।
सशस्त्र पनि फिर्ता
पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टरसहित १४ जना फिर्ता भएका छन् । प्रचण्डको सुरक्षामा सशस्त्रका ३० जना खटिएका थिए । सशस्त्रका एक अधिकृतका अनुसार प्रचण्डको सुरक्षामा अब नायब निरीक्षक (सई)को कमाण्डमा १६ जना रहनेछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेका १३ जना सशस्त्र प्रहरी फिर्ता भएका छन् । ओलीको सुरक्षामा पनि अब १६ जनामात्र रहनेछन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विशिष्टस्तरको सुरक्षा पाउँछन् ।
उनलाई पूर्वप्रधानमन्त्री सरह १५ जना सशस्त्र प्रहरीसहित पछुवा गाडी र २ जना नेपाल प्रहरीको पीएसओ दिइएको छ । सो सुविधा उनले आजीवन पाउँछन् । कार्यविधि अनुसार सुरक्षा पाउने भीआईपीलाई सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था छ । तर, उच्च सुरक्षा थ्रेट भएको अवस्थामा कार्यविधिमा तोकिएको भन्दा थप सुरक्षाकर्मी परिचालन गर्ने गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले बताए । उनले भने, ‘कार्यविधिभित्र नपरेका तर, थ्रेट भएका व्यक्तित्वलाई निर्णय गरेर पनि सुरक्षा दिने अभ्यास छ ।’








प्रतिक्रिया