काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आक्रोश पोखे । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय सञ्चार माध्यमबाट बाहिरिएपछि दीपशिखाले आक्रोश पोखेका हुन् । उनले प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना (पीएलए)ले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमा लेखेका थिए । साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।
‘क. प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ । बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ’, उनले लेखेका छन् । खबरअनुसार प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । शुक्रबार बिहानसम्म मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । तर यस्तो निर्णय पूर्वपदाधिकारीहरूलाई मात्र नभई बहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले जिकिर गरेको छ ।
माओवादी जनमुक्ति सेनाका पूर्वसर्वोच्च कमाण्डर समेत रहेका प्रचण्ड २०६३ मा भएको तत्कालीन सरकार र विद्रोही माओवादीबिच बृहत शान्ति सम्झौत गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । यद्यपि पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने कार्यविधि रहेको गृह प्रशासनले जानकारी दिएको छ । भदौ २३ र २४ गते जेनजी विद्रोहका क्रममा देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, राजनीतिक दलहरुका कार्यालय, नेताहरुको निजी निवासमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा बसेका थिए । तर भदौ २४ गते एक दिन मात्र राज्यको सुरक्षामा बसेको दीपशिखाले दाबी गरेका छन् । अघिल्लो दिन सरकारले १९ जना जेनजीको हत्या गरेपछि प्रचण्डले त्यसदिन सिंहदरबारमा विपक्षी दलको आकस्मिक बैठक बोलाएका थिए ।
‘प्रचण्ड भदौ २४ गते मात्र सुरक्षा घेरामा बस्नुभएको हो । भोलिपल्टबाट पूर्व पीएलए र वाईसीएलले नै सुरक्षा दिइरहेको छ’, दीपशिखाले भने । प्रचण्डको हकमा बृहत शान्ति सम्झौतामै विशेष सुरक्षा दिने व्यवस्था भएकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुँदासम्म सरकारले पूर्वाग्रह राख्न नहुने उनको तर्क छ । खुमलटारस्थिति निवास खरानी भएपछि प्रचण्ड ललितपुरको सातदोबाटो, खुमलटार आसपास बस्दै आएका बुझिएको छ । जेनजी विद्रोहपछि प्रचण्डलाई भित्री घेरामा माओवादीका पूर्व पीएलएले आवश्यकता अनुसार विशेष सुरक्षा दिइरहेको दीपशिखाले जानकारी दिए । उनका अनुसार बाहिरी घेराको सुरक्षा व्यवस्था वाईसीएलले गरिरहेको छ ।
वाईसीएलका अध्यक्ष पुष्प ओलीले भित्री घेराको सुरक्षा व्यवस्थापन दीपशिखाले गरेका छन् । बाहिर घेराको व्यवस्थापन ओलीले गरेका छन् । प्रचण्डको सुरक्षाका लागि वाईसीएल काठमाडौँ उपत्यका र उपत्यका प्रदेशका लडाकुहरु खटिएको ओलीले जानकारी दिए । ‘अध्यक्षलाई दुई तहको सुरक्षा दिएका छौँ । भित्री घेराको सुक्षा जिम्मा पूर्व पीएलएले लिएको छ । त्यसको व्यवस्थापन दीपशिखाले गर्नुभएको छ । बाहिरी घेराको सुरक्षा जिम्मा वाईसीएलले लिएको छ, जुन मेरो नेतृत्वमा व्यवस्थान हुन्छ’, ओलीले भने, ‘प्रचण्ड कुनै कार्यक्रममा जानुछ भने पहिल्यै नै त्यहाँ गएर सुरक्षा चुनौती अनुगमन गरी व्यवस्था गर्छौँ । बाहिर जिल्लाको हकमा सम्बन्धित जिल्लाकै साथीहरुले जिम्मा लिनुहुन्छ ।’








प्रतिक्रिया