वासिङ्टन डीसी । अमेरिकाको उत्तरी क्यारोलिनामा गोलीबारीको घटनामा तीन जनाको मृत्यु भएको छ । डुङ्गामा सवार एक बन्दुकधारीले रेस्टुरेन्टमा गोली चलाएका थिए । यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको र अरू आठ जना घाइते भएको बताइएको छ । अपराध गरेपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।
डुंगामा चढेर ती बन्धुकधारीले साउथपोर्ट योट बेसिनमा रहेको अमेरिकन फिश कम्पनी रेस्टुराँमाथि गोली प्रहार गरेका थिए । यो घटना शनिबार साँझ ९ः३० बजेतिरको हो । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणको क्रममा अरू आठ जना घाइते भएको प्रहरीले बताएको छ । अधिकारीहरूले घटनाको थप विवरणहरू जारी गरेका छैनन् ।
रेस्टुरेन्ट नजिकै एउटा डुङ्गा रोकेर रेस्टुराँमा खाना खाइरहेका भीडमाथि अन्धाधुन्ध गोली चलाएर भागेको अधिकारीहरूले बताएका छन् । एक जना संदिग्धसँग प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको खबर आएको थियो । तर ती मान्छे आरोपी नै हुन् कि होइनन् भन्ने खुलासा भएको छैन ।








प्रतिक्रिया