काठमाडौं, ११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दैहुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्नुहुनेछ ।
एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको छ । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुनुहुने भएको छ ।
निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।
बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो । भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला आज र भोली सञ्चालन हुनेछ ।
प्रतिक्रिया