गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसा प्रकरण

काठमाडौँ, ११ जेठ । भिजिट भिसाको आडमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दल रास्वपाका साथसाथै गृहमन्त्रीकै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाले समेत उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राखेका हुन् ।

त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसाका नाममा मानव तस्करी हुने घटना नयाँ भने होइन । तर, सम्बन्धित निकायको उदासीनताका साथै आपसी सेटिङका कारण यो समस्या समाधान हुन नसकिरहेको यथार्थका बिच पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेसँगै विवाद थप बल्झिन पुगेको हो ।

अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै अरू केही ठाउँमा छापा मारेको थियो । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा समेत छापा मारेर कागजात र डिजिटल डिभाइस जफत गरेर अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतका भनाइ छ ।

बिचौलियासँग मिलेर भिजिट भिसाका नाममा सेटिङमा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंका अख्तियारको छ । सोही आशंकापछि अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख ९सहसचिव० तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई छाडिएपनि यो प्रकरणमा गृह मन्त्रालयकै जिम्मेवार अधिकारीहरुको संलग्नता रहेको आशंकासहित छानबिन चलिरहेको छ ।

सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म सम्पर्क भेटिएको भन्दै उनीमाथि व्यापक प्रश्न उठाइएको हो । यससँगै सादगी नेता मानिने लेखकले विगतमा सत्तामा रहेकाहरूमाथि उठाएको नैतिकताको प्रश्न अब उनीमाथि तेर्सिएको छ ।

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख ९सहसचिव० सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको आरोप लाग्दै आएको थियो । सोही विषयमा अख्तियारसम्म उजुरी परेको र अख्तियारले छापा मार्ने सुइँको पाएसँगै हतारहतार गृहमन्त्रीले भट्टराईलाई मंगलबार नै मन्त्रालय तानेको आरोप लागेको छ ।

 

प्रकाशित मिति: १२ जेष्ठ २०८२, आइतबार  ०७ : ३६  बजे