काठमाडौँ । गत भदौ २४ गते देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबैभन्दा बढी भौतिक क्षति भएको छ । प्रारम्भिक अनुमान अनुसार मुख्यमन्त्री कार्यालयमा मात्रै ९ करोड ७४ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । यो क्षतिमा भवनको संरचनात्मक मूल्याङ्कन भने समावेश गरिएको छैन । आन्दोलनकारीहरूले मुख्यमन्त्री कार्यालयको तीनतले भवनभित्र रहेका सम्पूर्ण सामग्रीमा आगजनी गरेका थिए ।
जसका कारण मुख्यमन्त्रीको कार्यकक्ष, मन्त्रिपरिषद् बैठक हल र सभाकक्ष पूर्ण रूपमा ध्वस्त भएका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार, आगजनीमा मुख्यमन्त्रीले प्रयोग गर्ने २ करोड ५० लाख मूल्य बराबरको ल्याण्डक्रुजर गाडीसहित ७ वटा जिप र १६ वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् । कार्यालयका सूचना अधिकारी जगदीश जोशीले दिएको जानकारीअनुसार आगजनीबाट कार्यालयका सबै ल्यापटप, कम्प्युटर, सोफा, एसी, दराज लगायतका जिन्सी तथा फर्निचर सामग्रीहरू जलेर नष्ट भएका छन् ।
यो घटनापछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सरकारी संरचनाहरूको अवलोकन गरेका छन् । उनले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा एकजुट हुन सबैलाई आह्वानसमेत गरेका छन्।कैलाली जिल्लामा मात्रै प्रदेश तथा सङ्घीय सरकार मातहतका १०३ वटा सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया