काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले यो आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरुले गरेको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गरे। तर उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले आफ्नो पक्षमा प्रयोग गर्न खोजेकोतर्फ सचेत रहनुपर्ने बताए।
उनले भने, ‘हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो। पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं, ओलीको राजीनामा माग्यौं। त्यसकारण हामी फरक छौं, आन्दोलनकारी शक्ति हौं।’ गजुरेलले नेतृत्व परिवर्तनबारे उठेका आवाजबारे समेत आफ्नो धारणा राखे । उनले सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुनेभएपनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए । अध्यक्ष प्रचण्डको बचाउ गर्दै उनले भने, ‘सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन।
त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ।’ उनले विशेष महाधिवेशनलाई नै उचित बाटो बताउँदै पार्टीमा विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार नेतृत्व उमेरका आधारमा होइन, विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा छनोट हुनुपर्छ। ‘पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी ढंगले चलेको छ, जसलाई सच्याउनै पर्छ,’ उनले भने। जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्नेमा पनि उनले जोड दिए।








प्रतिक्रिया