काठमाडौं, ७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान ९मंगलबार० शव फेला परेको छ। आइतबार राति घर नजिकैबाट अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरबाट एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ।हातखुट्टा बाँधेर शरीरमा एसिड खन्याई हत्या गरिएको शव आँपको रुखमुनि फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले बताउनुभयो। घटनास्थल मृतकको घर नजिकै रहेको छ ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन्। सोमबार बिहान महतो परिवारको मोबाइलमा माइमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो। अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिए पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए। समयमै सम्पूण जानकारी प्रहरी दिँदा समेत छोरालाई सकुशल उद्धार गर्न नसकेको प्रहरीप्रति महतो परिवारको आक्रोश छ। प्रहरीको निस्क्रियताका कारण अभिषेकले ज्यान गुमाउनु परेको पीडित परिवारको गुनासो छ। यता, प्रहरीले भने घटना अपहरण हो भन्ने पुष्टि गर्नमै समय बिताएको स्थानीयको गुनासो छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले भन्नुभयो , ‘घटनाबारे शूक्ष्म अनुसन्धान हुँदैछ। संलग्न पत्ता लगाई कानुनी दायरामा ल्याइन्छ।








प्रतिक्रिया