अभिभावकमाथि आक्रमण हुँदा नेतृत्व परिवर्तनको बहस जायज छैनः कांग्रेस प्रवक्ता महत

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीका ‘अभिभावक’ (सभापति)माथि साङ्घातिक आक्रमण हुँदा र उहाँको उपचार भइरहेका बेला नेतृत्व परिवर्तनको बहस चलाउनु उचित नभएको बताउनुभएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘जेनजी आन्दोलन’पछि उठेको नेतृत्व परिवर्तनको मागप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । डा. महतको यो भनाइ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित थियो। उहाँब्हरूले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । “अभिभावकमाथि साङ्घातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन पनि सक्दैनौँ ? आकाश झरिहाल्छ ?”, महतले प्रश्न गर्नुभयो । डा. महतले पार्टीको आन्तरिक संरचनामा छलफल गर्न सकिने र घटनाको मूल्याङ्कन तथा सुधार गर्न सकिने बताउनुभयो । तर त्यसका लागि उचित समय कुर्नुपर्ने उहाँको भनाइ छ। उहाँले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई थप अस्थिरतातर्फ धकेल्ने दाबी गर्नुयभो। उहाँले घाउमा नुन छर्कने काम नगर्न आग्रह गर्दै सबैलाई सन्तुलित र संयमित भएर सामूहिक निष्कर्षमा पुग्न अनुरोध गर्नुभयो । डा. महतले प्रश्न उठाउनेहरू सभापतिसँग सबैभन्दा नजिक रहेका व्यक्तिहरू भएको बताउनुभयो ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  ११ : ०३  बजे