रामेछाप, ४ असोज । संविधान दिवस २०८२ को अवसरमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीले मन्थलीमा आयोजित विशेष भेलाबाट सात बुँदे घोषणा जारी गरेको छ। “संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ” भन्ने मूल नारासहित सम्पन्न भेलामा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईं, केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी सदस्य, स्थानीय तहका जनप्रतिनिधि र विभिन्न तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।
भेलाले हालै भाद्र २३ र २४ गते भएको Gen-Z आन्दोलनमा प्राण गुमाएका प्रती श्रद्धाञ्जली व्यक्त गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। त्यस्तै, मुलुकमा विगतमा पटक–पटक दोहोरिएको संसद् विघटनको अभ्यासले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको भन्दै आगामी दिनमा त्यस्तो पुनरावृत्ति नहोस् भनेर संविधानमा आवश्यक संशोधन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। एमालेलाई स्थायित्व, सुशासन र जनतामुखी शासनको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने र साम्राज्यवाद, विस्तारवाद तथा विदेशी दबाबहरूको प्रतिकार गर्दै राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नुपर्ने प्रतिबद्धता पनि भेलाले प्रकट गरेको छ।
भेलाबाट पारित सात बुँदे घोषणामा Gen-Z आन्दोलनप्रति श्रद्धाञ्जली र छानबिनको माग, विदेशी हस्तक्षेपविरुद्ध प्रतिरोध, संसद् विघटन रोक्ने संवैधानिक व्यवस्था, मुलुकलाई स्थायित्व दिन एमालेको नेतृत्व, संगठन विस्तार र आन्तरिक एकता सुदृढीकरण, आन्दोलनमा जीवन अर्पण गरेका कार्यकर्ताको योगदानलाई स्मरण गर्दै पार्टीलाई सबल बनाउने र संविधान तथा लोकतन्त्रको रक्षा गर्न सबै दल तथा नागरिक समाजसँग सहकार्य गर्ने अठोट समावेश छन्। प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमालेले संविधान दिवसलाई अवसरका रूपमा उपयोग गर्दै संगठन र जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने र मुलुकलाई अस्थिरता होइन स्थायित्व र विकासतर्फ अघि बढाउने संकल्पलाई स्पष्ट पारेको उल्लेख गरिएको छ।










प्रतिक्रिया