काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशमा रहेका हमास नेताहरुमाथि थप आक्रमण गर्न सक्ने संकेत दिएका छन् । गत साता कतारमा हमासका नेताहरूलाई निशाना बनाउँदै इजरायलले आक्रमण गरेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबिओसँग जेरुसलेममा आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले हरेक देशसँग आफ्नो सीमाभन्दा बाहिर गएर पनि आफ्नो रक्षा गर्ने अधिकार रहने जिकिर गरे । अमेरिकाको एक निकट साझेदार देश कतारमा रहेका हमास नेताहरूलाई लक्षित गर्ने इजरायलको निर्णयको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ ।
गत साताको आक्रमणमा ६ जना मारिए पनि हमास नेताहरु भने बच्न सफल भएको बताइएको छ । ट्रम्पले उक्त आक्रमणपछि कतारमा कुनै पनि यस्तो घटना नहुने भनेर आश्वस्त पारेको केही दिनमै नेतान्याहुको यस्तो चेतावनी आएको छ । नेतान्याहुले पत्रकारहरूलाई भने, ‘हामीले यो आफ्नै बलमा गर्यौँ । कुरा सकियो ।’ बीबीसीले कतारमा भएको उक्त हमलाले उक्त क्षेत्रमा अमेरिकी सम्बन्धलाई क्षति पुर्याएको छ कि छैन भन्ने प्रश्न सोध्दा रुबिओले वाशिङ्टनले खाडी सहयोगीहरूसँग बलियो सम्बन्ध कायम राखेको जवाफ दिएका थिए ।
कतारको समर्थनमा अरब नेताहरूले शिखर सम्मेलन भइरहँदा उनीहरूको भेट भएको थियो । जहाँ कतारी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ लागु गर्ने काम बन्द गर्न र इजरायललाई दण्डित गर्न आह्वान गरेका थिए । कतारमा अमेरिकाको मुख्य हवाई अड्डा छ । उसले गाजामा युद्ध अन्त्य गर्न मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । दोहाले हमास र इजरायलबिचको अप्रत्यक्ष वार्ताको मध्यस्थकर्ताको रूपमा काम गर्दै आएको छ । उसले सन् २०१२ देखि हमासको राजनीतिक ब्युरोलाई आश्रय दिँदै आएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार रुबिओ इजरायलपछि कतार पुग्दैछन् ।
प्रतिक्रिया