आगजनी र तोडफोडमा संलग्न रहेको पाइएपछि रास्वपा सभापति र इन्चार्जले दिए राजीनामा

काभ्रेपलाञ्चोक, २९ भदौ । पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा भएको आगजनी र तोडफोड प्रकरणमा संलग्नताको प्रमाण सार्वजनिक भएपछि रास्वपाका नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन्।

भदौ २४ गते पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापालगायतका घरमा आगजनी गरिएको थियो। ती घटनाको नेतृत्व नगर सभापति भट्टराई र वडा इन्चार्ज तिमल्सिनाले गरेको प्रमाण फोटो तथा भिडिओमार्फत बाहिरिएपछि उनीहरूले जिम्मेवारी स्विकार्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्स विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत रहेको विद्यालयले पनि पुष्टि गरेको छ। सो घटनापछि उनले गल्ती भएको स्वीकार गर्दै पार्टी छाडेको बताए।

त्यस्तै, पनौती–२ कुशादेवीका इन्चार्ज सुदर्शन तिमल्सिनाले समेत आन्दोलनका क्रममा कमजोरी भएको स्वीकार गरेका छन्। सभापतिले राजीनामा दिएपछि आफूले पनि पार्टीबाट अलग भएको उनले बताएका छन्। साथै, अब आफू वा आफ्ना सात पुस्ताले पनि राजनीति नगर्ने बताएका तिमल्सिनाले हाल ज्यान असुरक्षा भएको दाबी समेत गरेका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार  १५ : २०  बजे