मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता

जनकपुर, २९ भदौ । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।

जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो फेसबुक पेजमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितीलाई मध्येनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजीनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरु आएको थियो ।

मधेश प्रदेश प्रमुख कार्यालयका एक जना कर्मचारीका अनुसार मुख्यमन्त्री सिंहको कुनै राजीनामासम्बन्धी पत्र प्रदेश प्रमुख कार्यालयमा आएको थिएन ।

संसदीय दलका नेता यादवले हिजो प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्ता लिएको सूचना दिएसँगै मधेश प्रदेश सरकार ढलेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार  ०९ : ३२  बजे