काठमाडौं २७ भदौ । उत्तर कोरियाले विदेशी फिल्म र टिभी हेरेका कारण धेरै मानिसहरूलाई मृत्युदण्ड दिइरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
उत्तर कोरियाली सरकारले विदेशी फिल्म र टिभी नाटक हेर्दा र शेयर गर्दा पक्राउ परेका व्यक्तिहरूलाई सहित मृत्युदण्डको सजाय बढ्दो रूपमा कार्यान्वयन गरिरहेको संयुक्त राष्ट्रसङ्घको एक प्रमुख प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उत्तर कोरियाले आफ्ना नागरिकलाई थप जबरजस्ती श्रममा लगाइरहेको र उनीहरूको स्वतन्त्रतालाई थप प्रतिबन्धित गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले विगत एक दशकमा उत्तर कोरियाली सरकारले ‘नागरिकको जीवनका सबै पक्षहरू’ माथि नियन्त्रण अझ बलियो बनाएको पत्ता लगाएको छ । यस्तै प्रविधिमा आंशिक रूपमा भएको प्रगतिले निगरानीलाई अझ व्यापक बनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले यदि यो अवस्था रहिरहेमा उत्तर कोरियालीहरूले ‘यति लामो समयदेखि सहँदै आएको पीडा, क्रूर दमन र डरको सामना गर्नुपर्ने’ बताउनुभएको छ ।
विगत १० वर्षमा उत्तर कोरियाबाट भागेका ३ सय जनाभन्दा धेरै व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित यो प्रतिवेदनले मृत्युदण्डको प्रयोग बढी भइरहेको देखाएको छ ।
प्रतिक्रिया