धादिङको काउले भाइनयार्ड रिसोर्टले आइपीओ निष्काशन गर्ने

काठमाडौं । धादिङको शान्त र आकर्षक पहाडी क्षेत्रमा अवस्थित काउले भाइनयार्ड रिसोर्ट प्रा.लि. ले सर्वसाधारणमा प्राथमिक शेयर (IPO) निष्काशन गर्ने तयारी थालेको छ । यसका लागि रिसोर्टले मुक्तिनाथ क्यापिटल लिमिटेड लाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ ।

यस सम्बन्धी सम्झौतामा रिसोर्टका निर्देशक इन्द्रबिर महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, मुक्तिनाथ क्यापिटलले पूँजी संरचना, व्यवस्थापन तथा सार्वजनिक निष्काशनसम्मका सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ ।

रिसोर्टका अध्यक्षका अनुसार, सम्झौतामा सार्वजनिक निष्काशनको तयारी तथा व्यवस्थापनका लागि आवश्यक सबै महत्वपूर्ण पक्षहरू समावेश गरिएको छ ।

नेपालकै पहिलो अंगुरखेतीमा आधारित पर्यटन स्थलका रूपमा काउले भाइनयार्ड रिसोर्ट करिब ५ हेक्टर क्षेत्रमा फैलिएको अंगुर बगैँचाबाट वाइन उत्पादन गर्ने मात्र नभई पर्यटकलाई वाइन टेस्टिङ, अंगुर बगैंचा अवलोकन, स्थानीय परिकार, होम–स्टे अनुभव र प्रकृतिनजिक विश्रामको सुविधा दिने तयारीमा छ ।

रिसोर्टले आधुनिक प्रविधि र परम्परागत शैलीलाई मिश्रण गरी अन्तर्राष्ट्रिय स्तरको वाइन अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । साथै, यसले ग्रामीण रोजगारी सृजना, कृषक सशक्तीकरण, दिगो पर्यटन प्रवर्द्धन र समुदाय विकासमा समेत योगदान पुर्‍याउने दाबी गरेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  ०९ : ०७  बजे