मन्त्रालयमा सूचीकृत भयो ‘हाम्रो पात्रो’

काठमाडौं,भदौ २१ ।  सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि दबाबमा परेको ‘हाम्रो पात्रो’ एपले अन्तत: सूचीकृत हुने प्रक्रिया पूरा गरेको छ ।

शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा एपको औपचारिक सूचीकरण सम्पन्न भएको हो । मन्त्रालय स्रोतका अनुसार सूचीकरणसँगै ‘हाम्रो पात्रो’ अब बन्द हुने सूचीबाट बाहिरिएको छ ।

सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स लगायतका एपहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । निर्णयसँगै इंटरनेट सेवा प्रदायकहरूले केही एपहरूमा पहुँच अवरुद्ध गरिसकेका छन् । ‘हाम्रो पात्रो’ सूचीकृत भएपछि अन्य एपहरू पनि दर्ता प्रक्रियामा आउने सम्भावना देखिएको छ ।

यता, एक्सले पनि दर्ताका लागि आवश्यक विवरण मागिसकेको छ । तर, अन्य एपहरू अझै सरकारको सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  १३ : ४८  बजे