एनआरटी एन्फा महिला लिगको छनोटनजिक

काठमाडौं, १८ भदौ । न्युरोड टिम (एनआरटी) एन्फा महिला लिगको छनोटनजिक पुगेको छ । च्यासल मैदानमा बुधबार सम्पन्न पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको हो । एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा ठकुरीले गोल गरिन् । ६६औं मिनेटमा जुनाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो । ८४औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै जित पक्का गर्दिइन् ।

योसँगै समूह ‘बी’ मा रहेको एनआरटीले ५ खेलबाट १२ अंक पु¥याएको छ । यो समूहमा १५ अंकसहित शीर्ष स्थानमा रहेको संकटा फुटबल क्लबले भने यसअघि नै महिला लिगमा स्थान बनाइसकेको छ ।

पराजित बुटवल भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो । सबै ६ खेल खेलेको बुटवले ६ अंकसहित छनोट सक्काएको छ । अब एनआरटीले अन्तिम खेल संकटासँग खेल्नेछ । उक्त खेलमा जित हात पारेया बराबरी खेले महिला लिगमा छनोट हुनेछ ।

एक खेल खेल्न बाँकी रहँदा ९ अंकसहित तेस्रो स्थानमा रहेको झापा एफसीले भने लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउनुपर्ने छ । नत्र महिला लिगमा छनोट हुन अर्को समूहको तेस्रो स्थानमा रहने टोलीसँग एक नकआउट खेल खेल्नुपर्नेछ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  १७ : २४  बजे