राष्ट्रियसभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, १३ भदौ ।  राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सबन्धी विधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्नुहुने छ । राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहृुने छ । साथै, सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार  ०७ : ११  बजे