इम्बोस्ड नम्बरप्लेट आफू अनुकूल समयमा जडान गर्दा हुन्छः विभाग

काठमाडौं, १० भदौ ।यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बरप्लेट जडान नगरेको खण्डमा तत्काल कुनै पनि जरिवाना नगरिने स्पष्ट पारेको छ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सवारी धनीहरूले आफ्नो अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गएर स्वेच्छिक रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नसक्ने जनाएको हो।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशस् जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरासमेत स्पष्ट पारिन्छ।’

सामाजिक सञ्जालमा इम्बोस्ड नम्बरको गुणस्तर, तथ्याङ्कको विवरण मुलुक बाहिर जानेलगायतका गलत तथा भ्रामक सूचनाहरु प्रचारप्रसार भएको भन्दै विभागले अफवाहको पछि नलाग्न आग्रह गरेको छ। सवारीसाधनको सम्पूर्ण विवरण र तथ्याङ्क नेपालभित्रै, यातायात व्यवस्था विभागको परिसरमा रहेको सुरक्षित सर्भरमा रहने विभागको दाबी छ।

‘इम्बोस्ड नम्बरको गुणस्तर, तथ्याङ्कको विवरण मुलुक बाहिर जाने गरेकोलगायतका गलत तथा भ्रामक सूचनाहरु प्रचारप्रसार हुँदै आएको देखिन्छ। इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको, सवारी साधनहरुको सम्पूर्ण विवरण तथा तथ्याङ्कहरु मुलुकभित्रै रहने गरी (यातायात व्यवस्था विभागको परिसरमा) डेटा सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएकाले यस्ता गलत, भ्रामक तथा अफवाहको पछि नलाग्नु हुनसमेत अनुरोध छ,’ विभागले भनेको छ।

 

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  २० : २०  बजे