हैजा फैलिएपछि वीरगञ्जका विद्यालय थप तीन दिनका लागि बन्द

काठमाडौं, १० भदौ ।  हैजा फैलिएपछि पर्साको वीरगन्ज महानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको छ । आज बसेको नगरप्रमुस्तरीय बैठकले भोलिदेखि शुक्रवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस अघि दुई दिनका लागि विद्यालय बन्द गरिएका थिए । बैठकले विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशङ्कामा पठाएका बिरामीको नमुना परीक्षण गर्दा १० मध्ये आठ वटामा हैजाको सङ्क्रमण पुष्टि गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार वीरगञ्ज महानगरपालिकामा गएको सुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  २० : ०३  बजे