उपसभामुख राना जोडिएको बालबालिका अवैध ओसारपसार घटनामा अघि बढ्यो प्रहरी अनुसन्धान

काठमाडौं, ८ भदौ ।  उपसभामुख इन्दिरा राना मगर जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान शुरू भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाबाट अवैधरुपमा बालबालिका ओसारपसार भएको सरकारी प्रतिवेदनले नै औंल्याएको थियो । तर, रानामाथि कुनै कानूनी ‘एक्सन’ अगाडि बढेको थिएन ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङका अनुसार, सार्वजनिक सरोकारको विषय र उपसभामुखको नाम जोडिएकाले अनुसन्धान गर्न ब्यूरोलाई निर्देशन दिइएको हो । ‘उपसभामूखज्यू जोडिएको बालबालिकाको अवैध ओसारपसारको विषयमा के कति सत्यता हो वा होइन भनेर अनुसन्धान शुरू गरिएको हो,’ एआईजी खापुङले भन्नुभएको छ , ‘अनुसन्धान गर्ने आधिकारिक निकाय प्रहरी नै भएकाले मैले मानव बेचबिखन ब्यूरोलाई निर्देशन दिएको हो ।’
यही भदौ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख राना सम्बद्ध संस्था पीए नेपालको संलग्नता रहेको दाबी गर्नुभएको थियो । भट्टराईको उक्त दाबीलाई पुष्टि गर्दै पत्रकार सुमन ढुंगानाले एक सञ्चारमाध्यममा त्यो घटना र समाचार संकलनका क्रममा आफूले जागिरबाट हात धुनुपरेको कुराको अभिव्यक्त गर्नुभएको थियो । उहाँले उपसभामुख राना जोडिएको बालबालिकाको अवैध ओसारपसारको समाचार संकलन गर्दा आफू कार्यरत टेलिभिजनबाट जागिर खोसिएको र सोसम्बन्धी रिपोर्ट लुकाइएको विषय उल्लेख गर्नुभएको छ । मानव बेचबिखन ब्यूरोले अनुसन्धानका लागि पत्रकार ढुंगानाको समेत सहयोग लिने तयारी गरेको छ ।माग्छौं ।’

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  १९ : ४०  बजे