सुटकेसभित्र भेटियो महिलाको शव

काठमाडौं, ८ भदौ ।  रौतहटको गौरमा सुटकेश भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो ।शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बतानुभयो। महिलाको पहिचान खुलेको छैन ।प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी कार्कीले बताउनुभयो । साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । नेपाल लज भित्र मृत अवस्थामा भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया पछि आज अज्ञात महिलाको शव भेटिएको हो ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  ०८ : २४  बजे