काठमाडौं, ६ भदौ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक राष्ट्रपति बनाएको व्यक्तिले अहिले आएर पार्टीमा समस्या खडा गरेको बताउनुभयो । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विद्या भण्डारीप्रति लक्षित गर्दै असन्तुष्ट पक्षको भेला गराएको आरोप लगाउनुभएको छ । पार्टीले दुई–दुई पटकसम्म राष्ट्रपति बनायो। त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा पार्टीले कल्पना पनि गरेको थिएन। उहाँ आएर पार्टीलाई सहयोग गर्नुपर्ने, एकतामा जोड दिनुपर्थ्यो। तर, उहाँले पार्टीका बारेमा नबोल्ने र संगठनमा हारेकाहरूलाई भेला गर्नुभएको छ, उहाँले भन्नुभयो । मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन पार्टी कार्यालय खोलेकोप्रति पनि ओलीले आपत्ति जनाउनुभएको छ। उहाँले पार्टीविरुद्ध सक्रिय भएर असन्तुष्ट पक्षको भेला गराइरहेको आरोप पनि लगाउनुभएको छ । अध्यक्ष ओलीले एमालेले कसैको सदस्यता नखोसेको बताउनुभयो। उहाँले पूर्वराष्ट्रपतिले फैलाएको भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।
उहाँ(विद्या भण्डारी)को सदस्यता पार्टीले खोसेको होइन। राष्ट्रपति हुनेबेला उहाँले परित्याग गर्नुभएको हो। परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ उहाँले। सदस्यता छोडेर जानुभएको हो। कर्मचारीलाई झुक्याएर रसिद लिएर त हुँदैन नि। त्यत्रो राष्ट्रपति भएको व्यक्तिलाई कर्मचारीले रिसद काटिदिएको होला। तर, त्यसरी लिने होइन, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले २०७२ सालमै सदस्यता परित्याग गरेको बताउनुभयो । उहाँले २०७२ कात्तिकमै सदस्यता परित्याग गर्नुभएको हो। सदस्यताको माया थियो भने राष्ट्रपति हुन नजान पर्थ्यो नि। सदस्यता छोडेर राष्ट्रपति हुन जाने अनि अहिले सदस्यता दाबी गरेर हुन्छ? नभएको सदस्यता नवीकरण हुँदैन, उहाँले भन्नुभयो। सदस्यताका लागि भण्डारी प्रक्रियामा पनि नआएको उहाँको गुनासो छ।








प्रतिक्रिया