लगातार २ दिन बढेको शेयर बजार आज घट्यो

काठमाडौं, ४ भदौ ।  लगातार २ दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७० अङ्कले घटेर २ हजार ७ सय ६७ दशमलव २० विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १ सय ८८ वटा कम्पनीको शेयर घट्दा ५९ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीका शेयर घटबढ भएन ।

आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ । लगातार ३ दिनयता कारोबार रकम घटिरहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १७ : ०९  बजे