ट्रम्प–जेलेन्स्की बैठकमा पनि भएन कुनै ठोस सहमति

काठमाडौं,३ भदौ । अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन्। तर रुस र युक्रेनबीच युद्धविरामबारे कुनै सहमति भएन।

बरु ट्रम्पले यसो भने, ‘अहिले यति चाँडै युद्धविराम सम्भव छैन।’

यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ट्रम्पले भने, अमेरिका र युरोपेली देशहरू यसमा मिलेर काम गर्नेछन्।

साथै रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन)  ले ट्रम्पले बैठक रोकेर आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ।

यस क्रममा पुटिनले रुस र युक्रेनका प्रतिनिधिहरूबीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे।

जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन संवादमा पुटिन १५ दिनभित्र जेलेन्स्कीलाई भेट्न सहमत भएको बताएका छन्।

जेलेन्स्कीले पनि पुटिनसँग भेटघाटको लागि तयार रहेको बताएका छन्। तर भेटघाट कहाँ हुने भन्ने कुरा तय भइसकेको छैन।

ट्रम्प-जेलेन्स्की बैठकका १० प्रमुख बुँदा

ट्रम्पले भने..

१. आजको बैठकको नतिजा जे भए पनि युक्रेनका लागि अमेरिकी समर्थन रहिरहनेछ।

२. युक्रेन नेटोको सदस्य नहुन सक्छ, तर अमेरिकाले युक्रेनलाई धेरै राम्रो सुरक्षा प्रदान गर्नेछ।

३. म युक्रेनमा शान्ति कायम राख्न अमेरिकी सेना पठाउनेबारे विचार गर्न सक्छु।

४. युद्ध निश्चित रूपमा समाप्त हुनेछ, तर यो कहिले हुन्छ भन्नेबारे मलाई पूर्ण रूपमा थाहा छैन।

५. रुस, युक्रेन र अमेरिकाको बैठक हुनेछ र त्यसमा युद्ध समाप्त हुने सम्भावना छ।

६. युद्ध यसको समय आएपछि समाप्त हुनेछ। म ठ्याक्कै भन्न सक्दिनँ, तर यो समाप्त हुनेछ।

७. ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीलाई भेटेपछि म पुटिनलाई फोन गर्नेछु।

जेलेन्स्कीले भने…

१. युद्ध अन्त्य गर्न कूटनीतिक बाटो अपनाउन तयार छु, भूमि आदानप्रदान स्वीकार्य छैन।

२. युद्ध समाप्त भएपछि मात्र राष्ट्रपति चुनाव हुन सक्छ। युद्ध चलिरहेका बेला यो सम्भव छैन।

३. युक्रेनको सुरक्षाका लागि अमेरिकाका हतियार धेरै महत्त्वपूर्ण छन् र कसैसँग पनि त्यस्तो हवाई रक्षा प्रणाली छैन।

 

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  ०७ : २३  बजे