काठमाडौं, २९ साउन । डेङ्गु सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
डा. दाहालले नेपालमा पुस यता ७४ जिल्लाबाट तीन हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा ८८८ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६३६, कोशीमा ५३२, लुम्बिनीमा ४७७, सुदूरपश्चिममा ३५५, कर्णालीमा ८४ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा।दाहालले जानकारी दिनुभयो । चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन् । त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।
प्रतिक्रिया