बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ युवकको मृत्यु, ३ जना घाइते

काठमाडौं, २ भदौ । काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा सिराहाको जम्दह-४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय युवक छन् ।उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्ताल महाराजगञ्जमा मृत्यु भएको हो ।

गएराति पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर-७ स्पेसलचोकमा गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको एसपी बोहोराले जानकारी दिनुभयो ।

दुर्घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ–८ भंगाल बस्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, नाम, थर र बतन नखुलेका अन्दजी २८ वर्षीय युवक र नाम, थर र बतन नखुलेका अन्दाजी वर्ष ३० का युवक गरि तीनजना घाइते भएका छन्।

घाइतेमध्ये नाम, ठेगाना नखुलेका दुई युवकको अवस्था गम्भीर छ । गम्भीर घाइते एक युवकले कालो ट्याक,निलो टिसर्ट लगाएका र अर्का युवकले खैरो बक्स पाईन्ट, सेतो ट्याक लगाएका प्रहरीले जनाएको छ । मङ्गोलिएन अनुहार भएका करिव ३० वर्षीय युवकका कोही आफन्तसमेत हाल सम्म सम्पर्कमा नआएका प्रहरीको भनाइ छ ।

घटनाको जानकारीपछि प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेलाई अस्पताल पुर्याउनुभएको थियो । हाल दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  ०९ : २९  बजे