कसैले रोई कराई गरेर सरकार ढल्दैन: अर्थमन्त्री पौडेल

काठमाडौं, १ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताउनुएको छ। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडलले देश विकास, स्थिरता र समृद्धिको तर्फ देशलाई अगाडि बढाउन गठबन्धन सरकार २०८४ को आम निर्वाचन सम्म पुग्ने बताउनुभयो । उपप्रधानमन्त्री पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्वको अंकगणित अनुसार वर्तमान समीकरण नै स्थिरताको प्रत्याभूति दिलाउन सक्ने सरकार भएको बताउनुभयो। कसैले चाहेर, रोई कराई गरेर, नानाथरी बोलेर यो सरकार ढल्ने कुनै वातावरण र अवस्था नरहेको पौडेलले दाबी गर्नुभयो ।

अर्थमन्त्री पौडलले देश विकासको बाधकको रुपमा तीनवटा प्रमुख अस्थिरताहरू देखापरे पनि तिनीहरू किनारा लागेको बताउनुभयो। प्रतिगामी तत्व राजावादीहरु, राजनीतिमा देखापरेको एजेण्डाविहिन खहरेखोला प्रवृत्ति र सत्ता प्राप्तिका लागि प्रमुख प्रतिपक्षीको चलखेल जस्ता प्रवृत्ति समाप्त भएको बताउनुभयो । उहाँले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरुको कुनै भविष्य नभएको दाबी गर्नूभयो । अंग्रेजलाई युद्धमा हराएको खुसियालीमा मनाइने रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन उप प्रधान तथा अर्थमन्त्री पौडेल पाल्पा पुग्नुभएको हो ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार  १७ : ४५  बजे