काठमाडौं, १ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् ।
भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् ।
२०७८ मा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
शनिबार भएको बैठकमा महाधिवेशनलाई भब्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार वाग्मती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वार राखिने भएको हो ।
यसैगरी महाधिवेशनस्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघलगायत जनसंगठनले लिएका छन् ।
बैठकमा महाधिवेशनस्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि ब्यवस्थित न्युज डेस्क स्थापना गर्ने निर्णय भएको छ । मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको व्यवस्था गरिने भएको छ ।
महाधिवेशनको मुल नारा तय गर्ने काम भइरहेको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधीलाई कुनै शुल्क नलिने र आवासको प्रवन्ध प्रतिनिधी आफैँले गर्नुपर्ने निर्णय गरिएको छ ।
गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रवन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् ।
महाधिवेशनस्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिनेछ ।
एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेस गनुहुने छ । एमालेले महाधिवेशन सफल पार्न यसअघि नै विभिन्न कमिटी बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरुले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिनुभयो । व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधी तय गर्ने उत्सव भएकोले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरूलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिएका छन् । एमालेले आजदेखि महाधिवेशनको ‘काउन्ट–डाउन’ (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।
प्रतिक्रिया