मेलाको उद्घाटन विषय लिएर झडप, नगर प्रमुख सहित पाँच जना घाइते

रौतहट, १ भदौ ।  रौतहटमा मेला उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयर र दुई जना प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
जिल्लाको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप भएको हो । झडपमा परी देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह घाइते हुनुभएको छ ।
झडपमा मेयर साहसहित इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर, जगदीश यादव लगाएतका पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताउनुभयो ।
झडपमा घाइते भएका मेयर साहको टाउकोमा गम्भीर चोट लागेको छ भने बाँकि चार जनाको अवस्था सामान्य रहेको डीएसपी कार्कीको भनाई छ । घाइते सबैजनाको गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार भइरहेको छ ।

टाउकोमा चोट लागेका कारण मेयर प्रेमलाल साहलाई थप उपचारका लागि वीरगन्ज रेफर गर्ने तयारी भइरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

कृष्ण जन्माष्टमीको अवसरमा श्रीराम जानकी ब्रह्माबाबा मठ धरहरीमा आयोजना गरिएको मेला उद्घाटन गर्ने विषयलाई लिएर मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबिच विवाद उत्पन्न भई झड्पमा परिणत भएको थियो ।

मेला उद्घाटन गर्न मेयर साह मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिएपछि दुवै पक्षबीच विवाद भई हातपात भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका राधामोहन साह, रामविनोद साह र ऋतिक साह इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार  ०७ : ४६  बजे