काठमाडौं, १ भदौ । बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो ।
बीपी राजमार्गमा रातमा १२ घण्टा गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला सुरक्षा समितिको अस्ति शुक्रवार बसेको बैठकले बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका रातमा गाडी चलाउन रोक लगाइएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ । काठमाण्डौमा छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।
गएको असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा सडक बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी आवतजावत हुने गर्छ ।
प्रतिक्रिया