भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री आज नेपाल आउँदै हुनुहुन्छ।
उहाँ आइतबार अपरान्ह काठमाडौँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र विज्ञप्ति जारी गर्दै उहाँको नेपाल भ्रमणबारे जानकारी गराएको छ । प्रधानमन्त्री ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नुहुने छ । विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँ सोमबार स्वदेश फर्किनुहुने छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपालभ्रमणमा आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार  ०७ : २३  बजे