काठमाडौं, ३० साउन । अर्थ मन्त्रालयले १२ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकमा पठाइएको छ । त्यस्तै, यसअघि भन्सार विभागको नेतृत्व गरिरहेका महानिर्देशक महेश भट्टराईलाई मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा ल्याइएको छ । मन्त्रालयभित्रकै अन्य हेरफेरमा, सहसचिव सुमन दाहालले बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् भने टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाको नेतृत्व दिइएको छ ।
राजस्व प्रशासनका महत्त्वपूर्ण निकायहरूमा पनि व्यापक परिवर्तन गरिएको छ । सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक बनाएर पठाइएको छ । यसअघि विमानस्थल भन्सारको नेतृत्व गरिरहेका दिलिप कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ । उनको स्थानमा महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई वीरगन्ज भन्सारको प्रमुखको रूपमा पठाइएको छ ।
आन्तरिक राजस्व विभागमा पनि नयाँ जिम्मेवारी तोकिएको छ । ठूला करदाता कार्यालयका प्रमुख रमेश अर्याल र भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदम कुमार श्रेष्ठले मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पाएका छन् ।अर्थ मन्त्रालयका अर्का सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया