काठमाडौं, २९ साउन । प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक फिल्म हो । महिला चरित्रले यो फिल्म लिड गरेका छन् । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो । पोस्टर र गीतले पनि यसलाई प्रष्ट पारिसकेको छ । अभिनेत्री सुरक्षा पन्तको अपोजिटमा को छ ?
पोस्टर तथा टीजरमा सुरक्षाको अपोजिटमा को छ ? भन्ने देखाइसकेको छ । निर्माण टिमले केही दिन अगाडि प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा भाइरल छ । यी दुवै गीतमा सुरक्षाको अपोजिटमा नयाँ अनुहार देख्न सकिन्छ ।
त्यो नयाँ अनुहार मन्जिल कुमारको हो, जसले ‘कोशेढुंगा’ मा सुरक्षाको जोडी भएर स्क्रिन सेयर गर्दैछन् । केही नाटकमा अभिनय गरेका उनले यो फिल्ममा लिड रोलमा काम गरेका छन् । गाउँले भूमिकामा उनी फिट देखिएका छन् । पूरै फिल्ममा भने उनले कति स्क्रिन अकुपाई गर्छन् र कस्तो पफर्मेन्स गर्छन्, त्यो भने फिल्म रिलिज भएपछि नै थाहा हुनेछ ।
केही सीमित सट तथा पोस्टरबाट अहिले नै उनको अभिनयको मूल्यांकन गर्न कठिन हुन्छ । चितवनका मन्जिल कुमार ‘कोशेढुंगा’ बाट उनले अभिनयमा करियर खोज्ने प्रयास गरेका छन् । ‘अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो चलचित्रमा अभिनय गरेँ,’ मन्जिल भन्छन्,‘ऐतिहासिक फिल्मका निर्देशक तथा अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।’
आफूले दर्शकलाई नबिजाउने खालको अभिनय गरेको उनको दावी छ । अनुभवी र सफल निर्देशक तथा कलाकारसँग आफूले सहकार्य गर्ने मौका पाएको बताउँदै उनले सक्दो प्रयास गरेका बताए । सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ आगामी भदौ १२ गते रिलिज हुँदैछ ।
‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक पौडेलको निर्देशन रहेको यो ‘कोशेढुंगा’ को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी तथा सिरुवारी क्षेत्रमा गरिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुंगा’ मा अभिनेत्री सुरक्षा पन्त र मन्जिल कुमारसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ यो फिल्म । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो फिल्म डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।
प्रतिक्रिया