काठमाडौं, २८ साउन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जानकारी दिनुभयो ।
अहिले उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा भइरहेको छ । उहाँले भन्नुभयो,‘हिजो रातिबाट नै वर्षा सुरु भएको हो । यो पूर्वबाट सक्रिय भएको विस्तार हुँदै आज रातिसम्म केही स्थानमा ठुलो वर्षा हुने सम्भावना छ ।’
उहाँका अनुसार आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षाको सभावना रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यसैगरी, कर्णाली प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।’
मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सातै प्रदेशमा मौसम साधारणतया तथा आंशिक बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया