एन्फा महिला लिग छनोटको तयारी

काठमाडौं, २८ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरी सकेको आज आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

एन्फा मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुनेछन् । तेस्रो स्थान रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

एसियामा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा ६ खेलका लागि अवसर दिन यो संरचना उपयुक्त भएको प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले जानकारी दिनुभयो । छनोटमो समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  १८ : ०६  बजे