विपिनको खोजीका लागि इजरायल जाँदै आमा र बहिनी

काठमाडौ, २६ साउन । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।
हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा  पद्मा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् । उहाँहरु अहिले त्रिभुवन विमानस्थलमा हुनुहुन्छ । लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उहाँहरु इजरायल जान लाग्नुभएको हो । इजरायलले नैं विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्‍याएर दबाब बढाउने रणनीति लिएको हो । पदमा र पुष्षा इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा जानेछन् । खोजीका लागि बाँकी काम त्यहीँबाट सुरु हुनेछ । उहाँहरुको टिकटको व्यवस्था पनि दूतावासले नै गरिदिएको छ । कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  ०८ : ३०  बजे