भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्

काठमाडौं, २१ साउन । सिन्धुलीको दुधौली नगरपालिका–१ की सीता माझी आइतबार साँझ खाना खाएर सुत्ने तरखरमा हुनुहुन्थ्यो , त्यही बेला उहाँको देवर खिलबहादुर भुजेल आइपुग्नुभयो। लामो समयदेखि सम्पर्कविहीन देवरलाई देख्दा उहाँ खुशी त हुनुभयो तर उहाँको खुशी लामो समय टिकेन।

देवर खिलबहादुरले टिसर्ट उठाएर कम्मरमाथि देखाउँदै भन्नुभयो, “यहाँ धेरै दुखिरा छ के भयो थाहा छैन।” उहाँको कम्मरमाथि ब्यान्डेज गरिएको थियो । ब्यान्डेज हेर्दा घाउ आलै रहेको बुझ्न सकिन्थ्यो। भुजेल रुन मात्र सकेका थिएनन्। एकैछिनमा गाउँमा हल्लाखल्ला भयो। मानिसले अड्कल काटे, “कसैले किड्नी पो झिक्यो कि ?” तर भुजेलले केही बताउन सक्नुभएन। उहाँले गाउँलेलाई भन्नुभयो “बेहोस बनाएको याद छ, त्यसपछि काठमाडौँको कलंकीमा गाडीले झारेपछि ब्युँझिएँ।” त्यो रात उहाँ आलो घाउ दुखेर निदाउन सक्नुभएन । भोलिपल्ट सिन्धुलीकै डकाहामा रहेको समिट माउन्टेन हस्पिटल पुर्‍याइयो। त्यहाँका चिकित्सक डा. नवीन बयरका अनुसार, उहाँ अस्पताल आउँदा ब्यान्डेज गरिएको थियो। ब्यान्डेज खोलेर घाउ सफा गर्न खोज्दा ३० वटा टाका लगाइएको देखियो। त्यसपछि डा. बयरले मिर्गौला झिकेको हुनसक्ने शंका गरेर भिडिओ एक्स रे गर्नुभयो।  नभन्दै देब्रेतीरको मिर्गौला थिएन। “त्यो थाहा पाउनासाथ मैले प्रहरीलाई खबर गरेँ, बिरामीलाई सोध्दा केही थाहा छैन मात्र भन्नुभयो,” डा. बयरले भन्नुभयो, “त्यत्रो किड्नी झिकेको थाहा नै पाउनु भएनछ।”

भुजेल वर्षौंदेखि सडक निर्माणमा मजदुरी गनुहुन्थ्यो । अन्तिम पटक काठमाडौँमा काम गर्नुभएका उहाँ पोखरा काम गर्न पुग्नुभएको थियो। भुजेलले भाउजू सीतालाई सुनाए अनुसार, पोखरामा सडक बनाउने काम गर्दा सडकमै पाल टाँगेर सुत्थे। त्यही क्रममा एक जना अपरिचित राम्रो काम लगाइदिने आश्वासन दिएर गत असारमा भारत पुर्‍याए। भारतमा उहाँलाई एउटा घरमा राखियो।    त्यहाँ हरेक दिन खाना खान दिइन्थ्यो। भाँडा माझ्न र सरसफाइको काम लगाइन्थ्यो। तर, त्यो कुनै होटल थिएन, न मानिसको घर नै।

भुजेललाई त्यतिकै थुनेर राखिएको थियो। महिना दिनपछि भुजेलले काम नगर्ने बताउपछि भोलिपल्ट उहाँलाई लिन एउटा कालो गाडी आयो। त्यसपछिको घटनाक्रम याद नभएको उहाँले बताउनुभयो। “गाडीमा हालेदेखि कलंकी रोडमा झारिदिएको मात्र याद छ भनेर सुनाउनुहुन्छ,” सीता भन्नुभयो “उहाँलाई भारतको कुन ठाउँमा लगेको भन्नेसम्म याद छैन।” शनिबार कलंकीमा झरेका खिलबहादुर रातभर हिँडेर पहिले सँगै मजदुरी गर्ने साथीलाई भेट्न पुग्नुभयो। खिलबहादुरले सीतालाई सुनाएअनुसार, साथीले घर सम्मको टिकट काटेर हातमा १ हजार ५०० रुपैयाँ हालिदिए। साथीको सहयोगले घर पुगेका उहाँले त्यसपछि मात्रै मिर्गौला झिकेको चाल पाउनुभयो । सोमबार भुजेल परिवारले स्थानीय प्रहरीमा उजुरी दिनुभएको छ । तर, उहाँलाई पोखराबाट भारत कसले लग्यो, भारतमा कहाँ राखियो भन्नेसम्म याद छैन। भारत बसुन्जेल कुनै पैसासमेत नदिएको खिलबहादुरले आफूलाई बताएको सीताले सुनाउनुभयो। “केही याद छैन मात्रै भन्नुहुन्छ, स्वास्थ्य पनि नाजुक छ,” सीताले भन्नुभयो । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने भुजेलको परिवार सामान्य छ। उहाँकी श्रीमती र छोरा पनि साथमा नभएको भाउजू सीता बताउनुभयो। अब के गर्ने उनीहरू अन्योलमा छन्। “ज्यान सद्दे हुँदा त परिवार पाल्न धौधौ थियो। अब कसरी ज्यान पाल्ने होला,” सीता भन्नुभयो । मानव अंग तस्करीमा संलग्नविरुद्ध मानवबेचबिखन तथा ओसपसार नियन्त्रण ऐन, २०६४ अनुसार, मानिसको कुनै अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  ०९ : ०१  बजे