कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाडौँ, १९ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दिनुभयो ।

“नतिजा प्रकाशनमा केही ढिला भएको थियो । हामी यसैको तयारीमा लागेका थियौँ । आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी छ,” ती सदस्यले भन्नुभयो ।

गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १५ : ३१  बजे