सर्लाहीमा ईभी र ट्रक ठोक्किँदा १२ जना घाइते

सर्लाही, ७ कात्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रकसँग ठोक्किएको हो । ट्रकमा साबुन बनाउन प्रयोग हुने रसायन बोकेको थियो ।

दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४, क्याम्पसचोकका विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  २० : ३३  बजे