इतिहासको भूमिकालाई अवमूल्यन गर्न खोजियो, मुलुकमा फेरि नयाँ परिस्थिति बन्छ : प्रचण्ड

काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गर्नुभएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ उद्घाटन गर्दै प्रचण्डले जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा प्रतिकूल अवस्थामा पनि जनसमर्थन जुट्ने बताउनुभयो ।

तत्कालीन जनयुद्धको स्मरण गर्दै उहाँले सीमित संख्यामा रहेका कार्यकर्ताबाट सुरु भएको आन्दोलन जनताको व्यापक समर्थनमा विस्तार भएको र त्यसले मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव बनाएको उल्लेख गर्नुभयो ।

वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको टिप्पणी गर्दै प्रचण्डले आफ्नो पार्टीको विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्न खोजिएको बताउनुभयो । परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने उहाँको भनाइ थियो ।

‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध सुरु गर्दा हामी जम्मा ६० जना थियौँ । त्यही संख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो,’ उहाँले भन्नुभयो ।

आफ्नो पार्टीको विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने बताउनुभयो ।

जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेर अघि बढेमा निकट भविष्यमै पार्टीको पक्षमा अनुकूल राजनीतिक वातावरण बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

स्रोत : ईमेजखबर

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  २० : २८  बजे