दसैँ मनाउन बाहिरिएकाहरू धमाधम काठमाडौं फर्किँदै

काठमाडौं, ७ कात्तिक । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकामा सवारी चाप बढेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारीसाधनको चाप बढेको छ ।

उपत्यका फर्किने यात्रुको संख्या दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउन, सवारी चाप व्यवस्थापन गर्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सडकमा निगरानी बढाइएको कार्यालयले जनाएको छ ।

उपत्यकाका प्रमुख नाकाबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  २० : २६  बजे