काठमाडौं, ७ कात्तिक । फिलिपिन्समा तालिमका क्रममा वायुसेनाका दुईवटा विमान आकाशमै ठोक्किँदा चारै पाइलटको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३:५१ बजे राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिक दुर्घटना भएको हो । दुवै एसएफ–२६० विमान कम उचाइमा उडिरहेका बेला एकआपसमा ठोक्किएका थिए । एउटा विमानको भग्नावशेष सैन्य ब्यारेकनजिक खसेको जनाइएको छ ।
दुर्घटनापछि फिलिपिन्स वायुसेनाले एसएफ–२६० विमानको उडानमा रोक लगाएको छ । दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म यी विमान नउडाइने वायुसेनाले जनाएको छ ।
एसएफ–२६० इटालीमा निर्मित तालिम विमान हुन् । फिलिपिन्सले सन् २०१०–११ को अवधिमा इटालीको कम्पनीबाट यस्ता १८ वटा विमान खरिद गरेको थियो । यी विमान वायुसेनाका पाइलटलाई उडान तालिम दिन प्रयोग गरिन्छन् ।
फिलिपिन्सले लामो समयदेखि सैन्य उपकरणको आधुनिकीकरण गर्ने प्रयास गर्दै आएको छ । तर, त्यसका लागि आवश्यक बजेट जुटाउनु चुनौतीपूर्ण बन्दै गएको छ । वायुसेनाका विमानसँगै नौसेना र थलसेनाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि रहेको छ ।
दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका कारण फिलिपिन्सका लागि सैन्य क्षमता विस्तार झन् महत्त्वपूर्ण बनेको छ । यद्यपि, बजेट अभाव र योजनाहरू कार्यान्वयनमा भइरहेको ढिलाइले सैन्य आधुनिकीकरणका प्रयास प्रभावित हुँदै आएका छन् ।
स्रोत : अनलाइनखबर












प्रतिक्रिया