नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु

काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यमान राजनीतिक तथा आर्थिक संकट, बढ्दो महँगी र जनजीविकाका समस्या उठाउँदै शनिबारदेखि देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सुरु भएको अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानको औपचारिक घोषणा गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको आरोप लगाउनुभयो । उहाँले महँगी, बेरोजगारी, युवा पलायन र किसानका समस्या चर्कँदै गएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जोखिम बढेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलन नागरिकबाट टाढिँदै गएको र ‘जनमुखीभन्दा नेतामुखी’ बनेको स्वीकार गर्दै प्रचण्डले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा गरेर अघि बढ्ने बताउनुभयो ।

अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा पार्टीका प्रतिनिधि टोलटोलमा पुग्नेछन् । उनीहरूले भ्रष्टाचार, कालोबजारी र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरी सरकारसमक्ष मागपत्र बुझाउने नेकपाले जनाएको छ ।

हालैका बाढीपहिरोका घटनामा राज्य संयन्त्रले उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै नेकपाले आपत्ति जनाएको छ । क्षति पुगेका पूर्वाधारको पुनर्निर्माण र विपद्पीडितलाई तत्काल सुरक्षित स्थानमा पुनर्स्थापना गर्न पनि पार्टीले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १९ : ५६  बजे