काठमाडौं, ३१ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमी धार्मिक आस्थाको पर्व मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ।
विजयादशमी २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सत्य, न्याय, धर्म र सदाचारको अन्ततः विजय हुन्छ भन्ने सन्देश बोकेको दसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभएको छ।
उपराष्ट्रपति यादवले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक तथा नैतिक शक्तिको विजय हुने विश्वासलाई विजयादशमीले थप बलियो बनाउने बताउनुभएको छ।
उहाँले लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुण त्यागेर सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न यस पर्वले प्रेरणा दिने उल्लेख गर्नुभएको छ। समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठा प्रवर्द्धन गर्न पनि विजयादशमीको विशेष महत्त्व रहेको उहाँको भनाइ छ।
दसैँ पुनर्मिलन र आत्मीयताको पर्व भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले शिक्षा, रोजगारी, व्यवसायलगायत कारणले परिवार तथा समुदायबाट टाढा रहेका व्यक्तिलाई आफन्तसँग भेटघाट गरी सम्बन्ध नवीकरण गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ। ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले परम्परागत संस्कार, लोककला, लोकसङ्गीत तथा सांस्कृतिक अभ्यासले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको जनाउँदै यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनमा विजयादशमीजस्ता पर्वको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ।
परिवर्तित विश्व परिवेशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहअस्तित्वको भावना अझ आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले विभाजन र वैमनस्यभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणमा अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।
उपराष्ट्रपति यादवले विजयादशमीले प्रत्येक नेपालीको जीवनमा आशा, ऊर्जा, आत्मविश्वास र सफलताको नयाँ अध्याय प्रारम्भ गराओस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।











प्रतिक्रिया