बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने अध्यक्ष दाहालको विश्वास

काठमाडौं, ३१ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बडादसैँले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

बडादसैँ २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

उहाँले दसैँले नेपालीबीच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको यस पर्वलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने उहाँले उल्लेख गर्नुभएको छ।

मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा, घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान र पारिवारिक पुनर्मिलनले नेपाली सांस्कृतिक विरासतलाई जीवन्त बनाएको अध्यक्ष दाहालको भनाइ छ। उहाँले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार र परम्पराको संरक्षणमा जोड दिनुभएको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गरेको बताउनुभएको छ। संविधानले सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा संवर्द्धनलाई महत्त्व दिएको उहाँले उल्लेख गर्नुभएको छ।

सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान र सहिष्णुता कायम राख्दै विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको अध्यक्ष दाहालले बताउनुभएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार  ०६ : ४६  बजे