बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारा मजबुत बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं, ३१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपालको विविधतालाई यस पर्वले सामाजिक एकता, सद्भाव र भाइचारामार्फत थप मजबुत बनाउने बताउनुभएको छ।

उहाँले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा र हार्दिकताको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभएको छ। भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीचको एकतालाई सुदृढ बनाउनुका साथै सांस्कृतिक पहिचान संरक्षणमा पनि यस पर्वको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक प्रसङ्ग स्मरण गराउँदै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा व्याख्या गर्नुभएको छ।

पारिवारिक जमघट र पुनर्मिलनमार्फत खुसी तथा आत्मीयता साटासाट गरिने दसैँको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गर्नुभएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार  ०६ : ४३  बजे