चाडपर्वमा अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

काठमाडौं, ३१ असोज । दसैं, तिहार र छठलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड र डिजिटल वालेटको पिन नम्बर कसैलाई पनि नदिन आग्रह गरेको हो।

चाडपर्वका अवसरमा ‘दसैं धमाका’, ‘तिहार–छठ बम्पर उपहार’ वा आकर्षक पुरस्कार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्तिबाट सचेत रहन इकाइले सुझाव दिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट पनि सावधान रहन भनिएको छ।

राष्ट्र बैंकले निःशुल्क मोबाइल रिचार्ज, चिट्ठा परेको वा नक्कली उपहारसम्बन्धी शङ्कास्पद लिंक नखोल्न आग्रह गरेको छ। अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक तथा विश्वसनीय वेबसाइट प्रयोग गर्न र सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न पनि सुझाव दिएको छ।

डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ। चाडपर्वमा उपहार र छुटका नाममा आउने प्रलोभनमा नपरी व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न पनि इकाइले आग्रह गरेको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार  ०६ : ४०  बजे