काठमाडौं, ३० असोज । यमनको दक्षिणी तटीय सहर एडेनस्थित राष्ट्रपतीय महललाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। आक्रमणका बेला प्रधानमन्त्री र अन्य मन्त्रीहरू भने सुरक्षित रहेको यमनी अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार यमनका सूचना मन्त्री मुअम्मर अल–इरियानीले अल–मासिक महलमा पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको जानकारी दिनुभएको छ। स्वास्थ्य मन्त्री कासिम बुहैबेहका अनुसार मृत्यु हुने र घाइते हुनेमा महलको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी छन्।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाले साउदी अरब नेतृत्वको गठबन्धन सेनाको एडेनस्थित सैन्य अपरेसन मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले यमन सरकारलाई सैन्य सहयोग गर्दै आएको छ।
यमनका प्रधानमन्त्री साया जिन्दानीले आक्रमणको निन्दा गर्दै सरकारले आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्ने बताएका छन्। उनले लाल सागरको दक्षिणपश्चिमी तटसहित विभिन्न अग्रमोर्चामा हुथीविरुद्ध जारी सैन्य अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सन् २०१४ मा हुथी विद्रोहीले राजधानी साना कब्जा गरेपछि यमनमा गृहयुद्ध सुरु भएको थियो। सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धन सैन्य हस्तक्षेपमा सहभागी भएपछि द्वन्द्व थप चर्किएको थियो।
बाब अल–मन्दब जलमार्गनजिकको रणनीतिक तटीय क्षेत्रमा नियन्त्रणलाई लिएर पछिल्लो समय संघर्ष तीव्र बनेको छ। उक्त जलमार्ग अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ।











प्रतिक्रिया